img

story
2018-09-16, 4.58.45 AM
त्यस टोलछिमेकमा हर्कबहादुरले पनि उनलाई डेरा दिन इन्कार गरे, लालबहादुरले पनि । धर्मनाथ र रामप्रसादले पनि उनलाई डेरा दिएनन् । कारण अर्को केही थिएन—उनका लालाबालाको लस्करबाहेक । सरुवा भएर त्यस साना सहरमा आएपछि उनलाई पहिलो समस्या नै डेरा खोज्नमा उठ्यो । डेराका लागि झूट बोलून् त भोलि भेद खुलिहाल्छ । यथार्थ बताउन् त पर्यो आपत । शान्ता आमैको घरमा पनि उनले डेराको समस्या बिसाउने निधो गरेर शान्ता आमैको घरमा पसे । शान्ता आमै त्यस समाजमा अलिक चल्ताफिर्ता थिइन् । समाजसेवा गर्नु उनको जीवनको चर्या थियो । एक्ली थिइन् । उनका छोरा नाति र इष्टमित्रहरू घरबाट अलिक परै थिए । त्यसो हुँदा उनी नाम जस्तै शान्तिप्रिय पनि थिइन् । “खर्साप हुँनुहुँदो रैछ । मालपोतमा भए त घुससुस खान फिरीसँग पाउनुहुन्थ्यो । जति पनि खान पाइहालिन्थ्यो क्यारे । घुसै खान नपाइने त्यो शिक्षा शाखामा सरुवा भएर आउनुभएको रैछ । के गरेर परिवार पाल्नुहुन्छ कठैबरी ? कति जना छन् नानीहरू ?” घुस खान नपाइने शाखामा सरुवा भएकोमा उनले खर्सापमाथि सहानुभूति जनाइन् र परिवारको संख्याबारे बुझ्ने फेरि पनि कोसिस गरिन् । खर्सापलाई बडो अप्ठेरा लाग्यो । ५ थान बालबच्चा छन् भनेर कुरा स्पष्ट राखूँ भने यिनले पनि डेरा दिने होइनन् । अरु थोरै छन् भनेर ढाँट्नु पो पर्यो । उनले एक मनमा सोचे । थोरै छन् भनेर ढाँटे भने त्यो ता झन् बढी घातक हुन सक्छ । कसरी ढाँट्नु तुरुन्त यथार्थ खुल्ने कुरा ! खर्सापका मनभरि कुँडुलिएर कुरा मडारिए । “ए, त्यस्तो च्याउँम्याउँलाई त डेरा दिन्न बा !” हर्कबहादुरले भनेको कुरा सम्झे । “ओहो अचेलको जमानामा पनि के हो पाँचपाँच ! पाँच पाण्डवको बेला छ कि क्या हो ?” लालबहादुरले पनि आफ्नो स्थिति राख्दा खर्सापका अघि खिल्ली उडाउँला झैं गरेर डेरा दिन आनाकानी गरेका थिए । “पाँचओटा छोराछोरी पनि छन् ? के यहाँ गोठ पाल्नु छ र ? चाँडै चर्पी भरिन्छ । अप्ठेरो ! झन्झट ! घन्चामन्चा ! कोलाहल ! भैगो है त खर्साप अन्तै डेरा खोज्नुहोस् ।” धनबहादुरले पनि उनलाई डेरा दिन इन्कार गरेका थिए । “घर, करेसा र ल्याट्रिन फोहोर गर्छन्, लडाइँ, झगडा !, कोकोहोलो तँछाड् मछाड्का कुरा हुन्छन् । भैगो, अन्तै खोज्नुहोस् ।” धर्मनाथ र रामप्रसादले पनि तिनका सन्तानकै कुराले गर्दा घरमा खाली डेरा हुँदाहुँदै पनि दिन मानेनन् । ती सबैका अस्वीकारपछि अब यो अर्को अस्वीकार हुन आँट्यो भन्ने लाग्यो त्यसबेला खर्साबलाई जब आमैले उनको सन्तानका स्थितिबारे फेरि पनि सोधिन् । “के घोरिनुभएको ? कति छन् नानीहरू भनेर सोधेको पो त, सुुन्नुभएन कि कसो ?” आमैले फेरि सोधिन् । “हँ !” खर्सापको तन्द्रा खुल्यो । “ए ! यस कुरामा भने मलाई मान्छेहरूले अलिक बेवकुफ भन्न थाल्या छन् ।” खर्सापले अन्ठसन्ठको उत्तर दिए । “मेरो कुरा तपाईंले बुझ्नु भएन ?” आमैले फेरि सोधिन् । “बुझें बुझ्नलाई तर.....” “के तर नि ?” “मलाई उत्तर दिन अलिक अप्ठेरो छ ।” “कस्तो अप्ठेरो ?” “छोराछोरीका मामलामा म अलिक अप्ठेरोमा छु । मेरा अलिक धेरै छोराछोरी छन् ।” “त के भो त ? छोराछोरी तपाईंका छन् । धेरै भए पनि तपाईंका होलान्, थोरै भए पनि तपाईंकै होलान् । त्यससँग मेरो केको लेनदेन ?” यसबारे आमैको अलिक भिन्न धारणा थाहा पाए खर्सापले । “अनि पाल्ने तपाईं, पाउने तपार्इँ, पढाइलेखाइ गर्ने तपाईं । मलाई त्यसमा केको खसखस ? मैले त कति छन् मात्रै भन्या पो त ।” आमैले खर्सापलाई नै उनको पक्षमा बल पुग्ने शैलीका केही कुरा राखिन् । “मेरो मत्लब के भने, अलिक ठुलो परिवार भएको हुनाले डेरा बस्ता अलिक घच्चापच्चा होला कि भन्ने मात्र हो ! अरु दायित्व त मेरै हो नि !” खर्सापले स्पष्ट गरे । “त्यो त हो ! आफ्नो थैलीको मुख राम्रोसँग बाँध्नू । अरुलाई भन्ने मौकै नदिनू । म पनि एक्ली मान्छे । यसो राजनीतितिर लागेकी । एकै छिन यसो घर छोड्नै हुँदैन । अघि.... तुलफुल उडाउन छेउछाउका बाँदरजस्ता छाउराछाउरी पसिहाल्छन् । चोरेर केही राख्दैनन् । मेरो घरको रेखदेख पनि हुने, तपाईंको अप्ठेरो पनि सजिलो हुने । हुन्छ, हुन्छ आए हुन्छ अप्ठेरो नमानीकन । मैले डेरा दिएँ तपाईंलाई ।” आमैले बल्लबल्ल डेरा दिइन् । डेरा पाएकोमा खर्सापले लामो सास फेरे । त्यसरी डेरा पाएका खर्बापले आमैसँग कृतज्ञ हुनु पर्ने ठाने । आमै अलिक उदार पनि थिइन् । परिवारमा ती एक्ली र घरमा पनि एक्ली भएको हुँदा तिनको जिन्दगी बडो अप्ठेरोमा थियो । घरमा जोसुकैलाई डेरा बस्न दिंदैनथिन् । जाँड रक्सी खाएर धतुलाउने मान्छे पर्यो भने उनलाई बडो समस्या हुन्थ्यो । खर्दार हरिकृष्ण जस्तो मान्छे जोसुकै हुँदैनथे । उनी त खाईकन पनि आमैका प्रिय थिए । मनपरिसँग खाने मान्छे पर्यो भने उनलाई फसाद पर्थ्यो । त्यसैले उनले सोधिन् “जाँडरक्सी भनेपछि अचेलका मान्छेहरू हुरुक्कै हुन्छन् । तपाईंको त्यस मामलामा के छ बानी ?” “बानी ता छैन ।” फ्यास्स भने । तैपनि पुतलीसडकको सेकुवा पसलबाट आइरहने गन्ध उनका नाकैका छेउमा परेको उनले अनुभव गरे । अनि उनले घुटुक्क थुक निले । उनका जीव्रामा तम्तम्याइलो पानी आउन खोज्यो । “सबै त्यस्ता कहाँ हुन्छन् र ?” उनले भनिटोपले । “हो ।” आमैले सही थापिन् र भनिन्— “मालपोतबाट शिक्षामा सरुवा भएको भन्नुभो र यसो सोधेको मात्र । मालपोतमा नापीमा आन्तरिक राजश्वमा घुस नखाने र जाँडरक्सी खाएर नधतुलाउने अनि रन्डीबाजी नगर्ने मान्छे मेरो विचारमा पाइँदैन ।” आमैको बिट मराउनी कुरा थियो । “कुरा ता छिनोफानो गर्नुपर्ला” भनेर कुरा फेर्दै खर्सापले कोठा पनि हेर्ने इच्छा जाहेर गरे । आमैले उनलाई कोठा देखाइदिइन् । खर्सापले कोठा राम्रो गरी हेरे । तिनलाई कसैले पनि कोठा नदिइरहेको बेलामा यो कोठा पाउनुलाई भाग्य जागेको जस्तो लाग्यो । डेरा गरी बस्नेले राम्रो डेरा पाउनु पनि दुर्लभ कुरा हुन्छ । “कोठा यही हो एउटा । अर्को चाइँ घरका अर्कापट्टि छ । त्यो पनि हेर्नुहोस् न । तपाईंले दुई कोठा लिनु पर्ला । एउटालाई किचन बनाउनू र अर्कोमा सुत्ने बस्ने गर्नू, कसो ? हुँदैन ?” आमैले सोधिन् । “पुगिहाल्छ । मनग्गे पुग्छ ।” खर्सापले खुसी प्रकट गरे । “खर्सापलाई यो आमैले भाडा कति लेली भन्ने लाग्या होला ।” आमैले आफैं भनिन् । “हो, मलाई पनि सोध्न अप्ठेरो परिराख्या थ्यो ।” भने । वास्तवमा खर्सापलाई सजिलो पनि भयो । “मैले भाडाको हिसाब गर्ने गरेको छैन ।” आमैले भनिन् । उनी अँझै भन्दै गइन् । “यसअघि मालपोतकै सुब्बा बस्या थे । घुस खान भने पनि रिपु रैछन् । मान्छेलाई बल्छी थापेर घुस खान सक्ने ! विना घुस सिन्को पनि नभाँच्ने । दिनहुँ जस्तो सेकुवा पसलमा पसेर हल्का तातेर आउँदा रैछन् । दिनहुँ सय, डेढ सय, कहिले ता पाँच सय पनि मेरा हातमा दिंदै लौ आमै आजको भाडा भन्दै हालिदिने उनको बानी थियो । बासी पैसा नचलाने । उनीसँग ता मैले कहिल्यै पनि महिनावारी भाडा मागिनँ । उनीसँग ता हिसाबै हुन्नथ्यो । तपाईं ता एक्लो पनि हुँनुहुँदो रहेनछ । उनीसँग ता मेरो निकै निकटताको सम्बन्ध पनि.....। भैगो त्यो कुरा छाडौं । साध्य पनि छैन । खोइ, तपाईंका साथ के हिसाब गर्ने ? उनको जस्तो गरी दिनसक्नुहुन्छ ?” आमै हात हल्लाइहल्लाई गफ चुट्न थालिन् । खर्साप भने अप्ठेरोमा परिरहे । आफू भने विभाग मात्र नभई मन्त्रालय नै सरुवा भएर जिल्लास्थित कार्यालयमा आउनुपरेकोमा निकै आहत भइरहेका थिए । वास्तवमा मालपोतको लुँडो घुस खाइरहेको मान्छेलाई शिक्षा र सञ्चारको हुलाक विभागतिर सरुवा गर्नु भनेको राणाकालमा वीरगञ्जतिर कालापानीमा कैदीलाई पठाउनुजस्तो हुँदो रहेछ । आज खर्सापलाई पनि कालापानी चलान गरेको जस्तो भइरहेको थियो । “त्यसरी त म दिन सक्तिनँ । विभाग पनि गतिलो परेन । आमदानी हुँदैन । तलबबाहेक अरु केही हात पर्दैन होला ।” खर्सापले भने । “शिक्षामा पनि कसोकसो गरेर मिलाएर घुस खान पाइन्छ भन्थे, तपाईंलाई मिल्दैन कि तपाईंले नै नजानेको ?” आमैले कुनै छलछाम बिनै सोधिन् । “जान्नु नजान्नु त त्यस्तैउस्तै हो । तर शिक्षा विभागमा बडो कठिन छ । यसो शिक्षकलाई पायक पर्ने ठाउमा सरुवा गर्ने विषयमा मिलाउन सकियो भने अलेलि हात लाग्छ ।” खर्सापको भनाइ थियो । अनि अँझै उनले आग्रह गरे— “भाडाको फाइनल गरौं न त !” “तपाईंको अवस्था बुझेर लिइदिउँला । अब मालै नपाएपछि तपाईंले कति नै दिनुहोला र ? तलबमात्र खाएर गुजारा गर्ने कर्मचारीको बिजोग छ । मलाई थाहा छैन र ! आउनुहोस्, तपाईंलाई डेरा दिएँ मैले । घरको मालिकजस्तो भएर बस्नुपर्छ । सरसफाइ, हुनुपर्छ । बस, मलाई त्यति भए पुग्यो ।” आमैका यी कुराले खर्सापको मन पग्लियो । आजको युगमा यति मर्म बुझ्ने मान्छे हुन्छन् भन्ने उनले सोचेका पनि थिएनन् । उनी बडो भावुक पनि भए । “धन्यवाद आमै ! म आजै बेलुका आउँछु ।” शान्ता आमैको स्वभावदेखि बडो कृतज्ञ हुँदै खर्सापले भने र लाग्न लागे आफ्नो काममा । “तर......” अन्तमा आमैको स्वरमा परिवर्तन आयो । “मलाई मन नपर्दो कुरा भयो भने तपाईंका हाँडाचिन्डा फ्याँक्छु र तुरुन्तै खेद्छु नि ! होस गर्नुहोला । जिस्केको होइन । यो चेतावनी सधैं ध्यान दिनू ।” आमैले बडो रुखो स्वरमा भनिन् । खर्सापले आमैका अनुहारमा तुरुन्ताको तुरुन्त रणचण्डीको रुप देखे । “भरसक म सिकायत गर्ने अवसर दिन्न ।” खर्सापले आश्वासन दिने असफल प्रयत्न गरिहेरे । आमै आश्वस्त भएको बुझियो । “लौ त जानुहोस् । भरे आए हुन्छ ।” आमैले भनिन् । खर्साप र आमै त्यसपछि छुट्टिए । साँझ पर्नपर्न लाग्दै थियो । आमैका घर अघि दुईओटा रिक्सा र एउटा ठेला आइपुगेर रोकिए । आमैको घरको ढोका खोलेर खर्सापकी पत्नी र ३ जना छोराछोरी लिएर एउटा रिक्सा आमैको घरमा भित्रै पस्यो र अर्को रिक्सा खर्सापसँग २ जना सन्तान सहित । पछिपछि डेरामा सामान लिएर सामानले भरिएको ठेला पनि घरकम्पाउन्ड भित्र पस्यो । रिक्साबाट ओर्लन पाएका थिएनन्, खर्सापका शाखासन्ततिहरू घरभरि मुसाका डुहुराको जसरी ढौंटरी मार्न थाले । डुहुरे मुसाको जस्तो खर्दार पुत्रपुत्रीहरूको छकछुक चलिरहेको बेला आमै भित्रबाट लाठो लिएर निस्किइन् । “कुन बजियाका शोषान्तर हुन् यी !” ती बडो क्रोधित रुपमा कराइन् । खर्दार तुरुन्तै आमैका अघि उपस्थित भए । “ए तिम्रा छोराछोरी पो !” आमैले बल्ल पो वास्तविकता थाहा पाइन् । बिहानै मलाई भन्नुपर्दैनथ्यो ? जुन रिक्सामा आएका थियौ अहिल्यै तुरुन्तका तुरुन्तै त्यसै रिक्सामा फर्किहाल । मेरोमा यहाँ कुनै हालतमा यो फौजसँग म बस्न दिन्न ।” आमैको कठोर मुद्रा देख्तै खर्दारको परिवार तर्छियो । खर्दारले अनुरोधसम्म गरे । केही सिप लागेन । उनकी पत्नीले आमैका अघि सरेर डेराका सम्बन्धमा आमैका साथ खुट्टै छुन खोजिन् । दुवैका अनूनय केही काम लागेनन् । तिनको केही सिप लागेन । सामान ल्याउने रिक्सा, ठेलालाई पनि तिनले बिदा गरिसकेका थिए । फर्केर जाँदा पनि तिनले जाने ठाउँ नै कहाँ थियो र ? त्यसैले बडो करुण भएर फेरि दुवैले आमैका अघि विनयपूर्ण करुण क्रन्दन गरे । तर आमैको स्वभावमा कुनै परिवर्तन आएन । आमै आफैंले खर्दारका सरसामानहरू गेटबाहिर फ्याँक्न थालिन् । केही नलागेपछि खर्दार आफैंले सरसामानहरू घरको मूल गेटबाहिर थुपारे । उनको परिवार पनि गेटबाहिर गल्लीमा सामानसँगै विस्थापित भएर थुप्रियो । “हन यो समयमा पनि कस्ता बजियाहरू हुन्छन् यी मान्छे पनि !” भित्रबाट कम्पाउन्डको ठुलो ढोका लगाउँदै आमै फत्फताएको सुनियो । “कुनै साले घुस मात्र खान्छन् । कुनै साले चैनि बर्सेनी सन्तान मात्र जन्माउँदा रहेछन् । छि कस्ता फटाहाहरू !” आमै अँझै केही भुत्भुताइरहिन् । शरणार्थीका रुपमा कम्पाउन्ड बाहिर थुप्रिएको खर्दार सापको परिवारले आमैको स्वर सबै सुनेन । खर्सापले त्यो रात कसरी र कहाँ काट्ने हुन् । साँझ परिसकेकोले राम्रोसँग देखिएन । त्यसै बेला ऊ बाहेकका मालका केही खर्दारहरू भने दिउसो भरि खाएको घुसको रकमलाई भट्टीको जाँडसँग साटेर बाटोका बीचमा हल्लिँदै यताउता गरेकोसम्म खर्सापले देखे । तिनको मुखमा पानी मात्र आयो । “मान्छेहरू कस्ता बुद्धि नभएका...” कम्पाउन्डभित्रबाट आमैको आएको आवाज भने उनका कानले सुनिरहे सुनिरहे ।
Category: My files | Added by: nepbis9810
Views: 23 | Downloads: 0 | Rating: 0.0/0
Total comments: 0
avatar